राष्ट्रपति कार्यालयले थाल्यो शपथको तयारी, नयाँ मन्त्रीको शपथ अपरान्ह ४ बजे



    राष्ट्रपति कार्यालयले नयाँ मन्त्रीहरुको शपथको तयारी थालेको छ। नयाँ मन्त्रीहरुले बुधबार अपरान्ह चार बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा शपथ लिने कार्यक्रम तय भएको छ।राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले सपथका लागि आधिकारिक चिठ्ठी भने प्राप्त भइनसके पनि सरकार बिस्तारको तयारीलाई ध्यान दिँदै कार्यालयले शपथको तयारी थालेको जानकारी दिए।प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने भएपछि शपथको कार्यक्रम तय गरिएको उनले बताए।
    दलहरुले मन्त्रीको नाम टुंग्याएपछि मंगलबारै सपथ लिने कार्यक्रम तय भए पनि कांग्रेसभित्रको विवादका कारण हिजो सपथ हुन सकेन। कांग्रेसले बुधबार सम्म पनि सरकारमा सहभागी हुने मन्त्रीको अन्तिम र आधिकारिक नामावली सार्वजनिक गरेको छैन।प्रधानमन्त्री भएको डेढ महिनापछि शेरबहादुर देउवाले पहिलोपटक मन्त्रिमण्डलको बिस्तार गर्न लागेका हुन्। मन्त्रिमण्डलमा कांग्रेसले १३, माओवादी केन्द्रले ९, लोकतान्त्रिक फोरमले ३, नेकपा संयुक्तले १ मन्त्रालय लिने सहमति सत्ता साझेदार दलहरुका बीचमा यसअघि नै भैसकेको छ। त्यस्तै राप्रपाका लागि पनि चार मन्त्रालय छुट्याइए पनि राप्रापा तत्काल सरकारमा सहभागी हुने सम्भावना भने कम रहेको छ।सत्तारुढ प्रमुख दल कांग्रेसले मन्त्रीको नाम नटुंग्याए पनि मा‌ओवादी केन्द्रले भने ६ मन्त्री र ३ राज्यमन्त्रीको नाम टुंग्याइसकेको छ। बुधबार बिहान बसेको कार्यालयको बैठकबाट मन्त्रीको नाम टुंग्याएको हो।यसअघि कांग्रेसबाट ३, माओवादी केन्द्रबाट ३ र लोकतान्त्रिक फोरमबाट अध्यक्ष विजय गच्छदार मन्त्री बनिसकेका छन्।

    No comments:
    Write comments